Sunday, April 19, 2020

एक लघुकथा


बिहान उठेर मुख धोएर यसो कोठामा पसेको चिया त खाट छेउको टेबुलमा आएर बसिरहेको रछ | फोन चलाउदै थिए भोक लागे जस्तो भयो, टाईम हेरेको १० बजेछ अनि भान्सामा पसे, त्यहाँ पनि टेबुलमा तात्तातो खानाले मलाई नै पर्खीराखेको रछ | मैले भात खाईसकेर हात हुने उठेको मात्र के थिए, त्यो मैले खाना खाको थाल पनि पछिपछि लागेर आयो |  साबुन हामफालेर थालमा गयो अनि नाच्न थाल्यो  | आँफै धारा खुल्यो अनि थाल धारा मुनि नुहाउन थाल्यो | मैले खासै वास्ता नगरी आफ्नो कोठातिर पसे त्यहाँ पनि अचम्म तालले मेरो खाटको तन्ना तन्किदै रछ अनि ओड्ने पनि पट्टीएर आफ्नो ठाउँमा बस्दै रैछ | म दङ्ग पर्दै त्यो मिलेको खाटमा लडे | त्यतिबेलै कुच्चो नाच्दै मेरो कोठा आइपुग्यो अनि कुनाकाप्चा चिहाउदै धुलो निकाल्न थाल्यो | मैले धुलो उडायो भनेर गाली पनि गरें त्यसलाई | धुलो र मैले खाएको चकलेटको खोललाई लखेट्दै खै कता पो पुर्यायो होला मैले खासै चासो देखाईन, मेरो कोठाबाट चाहिं बाहिर निकाल्यो, मलाई त्यति भए पुग्यो |
ट्वाइलेट जान खोजेको थिए, मेरा लुगाहरुले त बाटो पो छेकेर पालैसँग नुहाउदै रछन् | रिसले मुर्मुरिदै बाहिर निस्किन लगाए, मलाई ट्वाइलेट जो जानुथियो, उनीहरुको के काम छ र एकछिनमा नुहाए पनि त हुन्छ ! म टिभी हेर्न अर्को कोठामा गएँ, त्यहाँ बाट कुच्चो खुरुरु कुदेर बाहिर गयो, फेरी मेरो गाली खान्छु भनेर होला | टिभीमा पनि केहि राम्रो लागेन र फेरी आफ्नै कोठामा पसे | पानी पिउन मनलग्यो मात्र के भनेको थिए, एउटा गिलास खुरुरु कुदेर छेउमा टक्क अडियो | मैले पानी पिएपछि फेरी फर्केर गयो |
मैले ल्यापटप खोले र फिल्म हेर्न थालेँ | एकछिन पछि भोक लागे जस्तो भयो र म रिसले कराउन के लागेको थिए, मलाई मनपर्ने खाजा अनि चिया बोकेर एउटा किस्ती आतिन्दै आइपुग्यो | आज खाजा ढिलो ल्यायो नि त त्यसैले डराको होला बिचरो | मैले खाजा खाईसकेपछि फेरी त्यो किस्ती भाँडा बोकेर बाहिर निस्कियो | म फेरी फिल्म हेर्न थाले, मलाई अरुले के गर्दैछन्, के गर्न लागेका छन् भनेर चासो दिने फुर्सद कहाँ छ र?
तातो घिऊको मिठो बास्नाले भान्सा तिर जाऊँजाऊँ भएर भान्सा पसेको, टेबुलमा तात्तातो भात मलाई नै कुर्दै रछ | भात खाएर कोठामा पसेर गेम खेल्दै थिए कसैले ढोका ढकढकाए जस्तो लग्यो | ढोका खुल्लै भको थाहापाएर होला बिहान नुहाएका एक थाक लुगाहरु सरक्क पट्टिएर कोठामा आए अनि थपक्क दराज खोलेर भित्र पसे अनि ढोका लगाए | मैले खासै ध्यान दिईन किनभने मलाई अरुको चासो छैन |
आज त फेसबुक नै चलाको छैन भनेर सम्झे र खोले | सब साथीहरु कोहि खाने, कोहि फिल्म हेर्ने, कोहि किताब पढ्ने भनेर बसेका रछन् | केटासाथीहरु अल्छी लाग्यो कहिले लकडाउन सकिन्छ भनेर लेख्दैथिए, केटिहरु मिठो-मिठो परिकारको फोटो हाल्दै थिए | कसरी फुर्सद पाउँदाहुन्? मेरा घरका महिलाहरु त दिनभरी केहि काम नगरी बस्छन् र पनि यस्तो केहि पकाउने बनाउने जाँगर चलाउदैनन् | एकछिन सम्झेर रिसाए अनि रिसको सुरमा कतिबेला निदाएँछु थाहै पाईन |
लकडाउन भएदेखि पितृसत्ताको दिनचर्या यसरी नै बितिरहेको छ |

No comments:

Post a Comment