Friday, May 22, 2020

आमा तिमी देवी नबन


मान्छेलाई पृथ्वीमा जन्म भगवानले दिए भनेर होला आमा तिमीलाई भगवान माने
तर आमा तिमी भगवान नबन, तिमी देवी नबन
तिमी पनि मान्छे नै हौ, तिमी मान्छे नै बन |
तिमीलाई सबैले मिलेर देवी बनाए, पुज्य बनाए, तिमीलाई स्तम्भ माथि लगेर राखे
यति माथि राखे कि तिमी तल हेर्न पनि डरायौ, ओर्लिन पनि सकेनौ
तिमीलाई त्याग र बलिदानको उदाहरण बनाए, निस्वार्थ र अविरल प्रेमको सगर बनाए
तिमीलाई ममताकी खानी र वंशकी जननी बनाए
तिम्रालागि कथा, कविता र श्लोक रचना गरे
तिमीलाई यिनै रचनामा रम्न सिकाए
यसमै रुमल्याए |
आमा तिमी कति सोझी छौ
तिमीले यिनीहरुको चलाखी नै बुझिनौ
तिमीलाई महान बनाएर आमा, यिनीहरु मान्छे बनिरहे
तिमीलाई त्याग र बलिदानमा अल्झाएर आफु सपना र रहर पुरा गरिरहे
तिमी मेरै सेरोफेरो घुमीरहँदा उनीहरु संसार घुमे
तिमी मलाई पछ्याई रहेऊ, उनीहरु आफ्नो लक्ष्य पछ्याईरहे
तिमीलाई आमा बनाएर महान, पुज्य बनाए |
तर आमा तिमी कति सोझी
तिमी आमा बन्न व्यस्त हुँदा तिमीलाई मान्छे बन्नै दिएनन्
तिम्रो सपना, इच्छा, लक्ष्य तिमीलाई छोड्न बाध्य बनाए
आमा तिमीलाई देवीको नामको मिठाई दिएर तिमीसँग तिम्रो जीवन जिउनुको मिठास नै खोसिदिए
तिमीलाई सबै दुख हाँसेर सहन सिकाए
तिमीलाई जननी भनेर अल्मल्याएर आमा, तिम्रो पालनहार आफु बनिदिए
तिमीलाई पुज्य बनाएर आमा आफु शक्तिशालि बनिदिए
तिमीलाई देवी बनाएर आमा तिम्रो सबै मानव अधिकार खोसिदिए
त्यसैले आमा तिमी देवी नबन
तिमी पनि आम मान्छे जस्तै आफ्नो सपना, इच्छा र लक्ष्यको पछि लाग
तिमीले मेरा लागि आफ्नो रहर, सपनाहरु मरेको देखेर म खुशी हुन्न आमा
मलाई यो भारा नबोकाऊ आमा !
आमा, तिमीलाई देवी बनाए
तर आमा तिमी देवी नबन
तिमी पनि मान्छे हौ, मान्छे नै बन
तिमी त्याग र बलिदानको उदाहरण नबन,
आफ्नो इच्छा, चाहना, सपना नमार,
मेरा लागी त नमार !

यसको अडियो सुन्नका लागी यो लिंकमा जानुहोस्: https://www.youtube.com/watch?v=o_A7Icb433A

3 comments:

  1. Heart touching poem,loved it.
    It's not only about a mother,every other women after marriage are compelled either directly or indirectly to give up their dreams for the sake of their family in our country.

    ReplyDelete
  2. वहुत सुन्दर 😇

    ReplyDelete