Tuesday, June 2, 2020

म छोरा भएको भए


आमा, तिमी कति महान तर म कति तुच्छ
आमा, तिमीलाई म सधै गाह्रो पर्दा खोज्छु, तिमीसंग बोल्दा मन हलुङ्गो हुन्छ 
तर आमा तिम्रो जीवन सम्झिंदा मेरो मन रुन्छ
आफ्नो जन्मप्रति अत्यार लाग्छ
आमा, म नभएको भए सायद तिमी पनि खुलेर बाच्ने थियौ
आफ्ना सपना, चाहना सबै पुरा गर्ने थियौ
तर मैले तिमीसँग त्यो सबै अधिकार खोसे
तिमीलाई बलिदानको उदाहरण बन्न बाध्य बनाए
तिमी आमा हुँदिन थियौ त तिमी देवी हुँदिन थियौ
तिमी पनि आम मान्छे सरह आफ्नो जीवन आफ्नो तरिकाले बाँच्ने थियौ
म तिम्रो गर्भमा आएदेखि नै तिमीलाई मैले त्यागको अथाह भवसागरमा धकेंले आमा
त्यहि दिनदेखि तिमीले आफ्नो सबै पहिचान छोडेर मेरा लागी बाँच्न थाल्यौ
तिमीलाई आफ्नो काम छोड्न बाध्य बनाइयो
मेरो हुर्काई तिमीबिना हुँदैन भनेर तिमीलाई सबै कुरा बिर्सेर मैमाथि आफ्नो सर्वस्व केन्द्रित गर्न बाध्य बनाइयो
मेरा लागी तिमीलाई आफ्नो लक्ष्य त्याग्न बाध्य बनाइयो
आमा, तिमीले मेरा लागी गरेका सबै कुराले तिमीले मलाई नतिरीसक्नु ऋण लगायौ भनेर तिमीलाई सानो बनाउँदिन
तर तिमीसँग तिम्रो सपना, लक्ष्य, चाहना, जीवन सबै खोसेकोमा म आफुलाई कहिल्यै माफ गर्न सक्दिन
आमा, तिमीलाई देवी बनाए तर आमा तिम्रो अंश भएर पनि म पापी भए
यो पापको प्रायश्चित म कसरी गरूँ
तिम्रो सपना, इच्छा र जीवन खोसेर लागेको पाप म कसरी पखालुँ
आमा, म छोरा भएको भए सायद मैले तिमीलाई बैतरणी तारेर यो पाप पखाल्थें
तिम्रो पृथ्वीलोक पछिको जीवन सुनिश्चित गरी तिमीलाई मुक्ति दिलाउँथे
तर आमा म छोरीलाई त्यो अधिकार पनि छैन
सायद मैले गरेको पापकै कारणले हो आमा मैले पनि तिमी जस्तै त्याग र बलिदानको उदाहरण बनिदिनुपर्ने
तिमीले गरेजस्तै आफ्नो सपना, इच्छा र लक्ष्यको घाँटी रेट्नुपर्ने
आफुलाई बिर्सेर आफ्नो सन्तानमा हराउनु पर्ने
सायद छोरीले गर्न सक्ने प्रायश्चित यहि नै हो आमा
तर आमा म जुन प्रायश्चितको आगोमा जल्दैछु म फेरी आफ्नो सन्तानलाई त्यहि आगोमा कसरी होम्नु
छोराले त बैतरणी तारेर पाप पखाल्ला तर म आफ्नी छोरीलाई कसरी भनुँ तिमी आफ्नो सबै रहर, इच्छा र लक्ष्यलाई बिर्सिएर त्याग र बलिदानको उदाहरण बन
आफूलाई हराएर अर्कैको लागि बाँच्न सिक, आफ्नो संसार उसैमाथि केन्द्रित गर
मलाई यो कस्तो धर्मसंकटमा पारेऊ आमा तिमीले
तिमीमाथि गरेको अन्यायको पाप पखाल्न मैले आफ्नो सन्तानमाथि अन्याय गर्नुपर्ने
कति राम्रो हुन्थियो होला आमा यदि छोरीले पनि छोराजस्तै बैतरणी तारेर पाप पखाल्न पाउने भए
आफ्नो पापको प्रायश्चित गर्न मैले अर्कोलाई फेरी पापको भागीदार बनाएको छु भन्ने आत्मग्लानीमा बाच्नुपर्ने थिएन |

यसको अडियो सुन्नका लागी यो लिंकमा जानहोस्: https://youtu.be/5VJK8zO2A2g

No comments:

Post a Comment